नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अंकमा ल्याउन सम्भव नरहेको बताएका छन् । संघले बुधबार आयोजना गरेको छलफलमा अध्यक्ष केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै नेपालमा एकल अंकमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै छ । नेपालमा मुद्रास्फीति घट्दा पनि लक्षित सीमाभन्दा माथि नै छ,’ अध्यक्ष केसीले भने, ‘भारतले मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन प्रयास गरेपनि सफल हुन सकेको छैन । जसको प्रभाव नेपालमा पनि पर्छ । जसले तत्काल ब्याजदर एकल अंकमा झार्न सम्भव छैन ।’
अध्यक्ष केसी विस्तारै ब्याजदर घट्दो क्रममा रहेको भन्दै ब्याजदर एकल अंकमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताए । बैंकहरुले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा विस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने उल्लेख गरे । बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको अध्यक्ष केसी बताउँछन् ।
‘पहुँच पनि भएको र वित्तीय सचेतना भएका १८ लाख ऋणीबाट बढी दबाब हुन्छ,’ केसीले भने, ‘४ करोड ७० लाख निक्षेप खाताको दायित्व पनि बैंकहरुले लिएका छन् । निक्षेपकर्ताको कुरा कम र ऋणीको कुरा बढी आएका छन् । जसको कुरा बढी आउँछ त्यसैमा समस्या हो कि भन्ने लाग्छ ।’
